अपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग
बुधबार, फागुन ३०, २०८० मा प्रकाशित

बर्दिया,फागुन ३०(फरकसमाचार) / अघिल्लो महिना देखि जिल्लाको विभिन्न ठाउँमा अपराधिक घटना घटेका छन् । कही सरकारी कर्मचारीलाई कुटेको, कालोमोसो लगाएर दुव्र्यवहार गरेको, चोरी भएको त कही बाटोमा हिड्ने माथि सांघतिक आक्रमण गर्न खोजिएको घटना सार्वजनिक भएका छन् । यस्ता घटना घटिरहँदा कर्मचारी कार्यालयसम्म जान डराएका छन् भने काम विशेषले हिड्ने सर्वसाधारणसमेत डराएका छन् । यस्ता घटना घटिरहँदा सर्वसाधारणहरु असुरक्षित महसुस गरिरहेका छन् ।

गत २४ गते क्याम्पस पढाउन जाने क्रममा आक्रमण गर्न खोजिएको बढैयाताल गाउँपालिका–६ जिपुरका भगत नेपालीले बताए । सांघतिक रुपमा आक्रमण गर्न खोज्ने समुहलाई नियन्त्रणमा लिई कानुनी कारवाही गर्नुपर्ने नेपालीले माग गरेका छन् । ‘प्रत्येक दिन जस्तै त्यस दिन क्याम्पस हिडेको थिए’नेपालीले भने,‘बढैयाताल गाउँपालिका–३ मान झुण्डी सामुदायिक वन जंगलको मोडमा दुई वटा मोटरसाईकलमा आएका अपरिचित व्यक्तिले आक्रमण गर्न खोजे ।’ रोक, जान्ने बन्छस, ठुलो पल्टिने भनेर अपशब्ध बोल्न थाले ।

अपरिचित व्यक्तिहरुको भौतिक आक्रमणमा पर्नु भन्दा चलाएको मोटरसाईकल छोडेर दायाँतर्फको जंगलमा भागेको नेपालीले सुनाए । भाग्ने क्रममा रुखमा ठोकिएर घाँटीमा चोट लागेर घाईते भएको नेपालीको भनाई छ । भाग्दै नजिककैको सशस्त्र बेस क्याम्पमा पुगे । सशस्त्र प्रहरीले उपचारको लागि नेपालगंज पु¥याए । भुतले तर्साएर घटना घटेको हुन सक्ने भन्दै प्रहरी पन्छिन खोजेको नेपालीले दावी गर्छन् । नेपाली मध्यपश्चिम क्याम्पसका क्याम्पस प्रमुख तथा नेपाली काँग्रेस बढैयाताल गाउँ कार्य समितिका सभापति हुन् ।

यस घटनाको छानबिन गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टिम गठन भएको प्रहरी उपरीक्षक प्रबिण धितालले बताए । ‘प्रविधिको प्रयोग गरेर घटनाको अनुसन्धान भईरहेको छ’प्रहरी उपरीक्षक धितालले भने,‘उहाँले भनेको कुरा हाम्रो अनुसन्धानमा मिलेको छैन ।’ यस घटनामा प्रहरी संवेदनशील भएर काम गरिरहेको प्रहरी उपरीक्षक धितालले जानकारी दिए ।

जिल्लामा भईरहेको अपराधिक गतिविधिलाई नियन्त्रण गरि शान्ति सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था कडा पारिएको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बताए । बढैयातालमा आक्रमण गर्न खोज्ने केस प्रहरीले हेरेको छ । यो केस अझै हामी कहाँ नआएको जानकारी छैन । ‘कालोमोसो दल्ने चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ’सहायक प्रजिअ कठायतले भने,‘चोरी नियन्त्रणको लागि प्रहरी गस्ती परिचालन भएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर