बर्दिया मालपोत कार्यालयको मुद्दा, भुमिसुधार र आर्थिक सेवा ठप्प
बुधबार, चैत ०७, २०८० मा प्रकाशित

बर्दिया,चैत ७(फरकसमाचार)/ मालपोत कार्यालयमा लामो समय देखि कार्यालय प्रमुख नहुँदा कामकाज ठप्प जस्तै भएको छ । मालपोतमा कार्यालयमा प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिक कामकाज कामकाज ठप्प भएका छन् भने सामान्य प्रकृतिका मात्र सूचारु छन् । कार्यालय प्रमुख नहुँदा जिल्लाको टाढा टाढाबाट आउने सेवाग्राही दुःख पाएर फर्किन बाध्य भएका छन् ।

मालपोतका कार्यालय प्रमुख सरुवा भएको २१ दिन बितिसक्दासमेत अर्का कार्यालय प्रमुख आएका छैनन् । मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुखका अनुसार विभागले अझैसम्म कार्यालय प्रमुखमा को आउने तोकेकै छैन । सम्बन्धित निकायको लापरवाहीले सेवाग्राही दुःख पाईरहेका छन् ।

गत फागुन १६ गते मालपोत कार्यालयका कार्यालय प्रमुख मदन घिमिरे सरुवा भएर अन्त गएपछि विभागले अर्को कार्यालय प्रमुख अझैसम्म पठाएको छैन । जिल्लाकै भिडभाड हुने कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका नरेश कुमार तिवारीले काम थेग्न नसक्ने अवस्थामा रहेको बताउँछन् । कार्यालय प्रमुख नआउँदा धेरै काम पेन्डिङ्गमा रहेको जनाए ।

भुमिसुधारको सम्पुर्ण कामकाज ठप्प रहेको निमित्त कार्यालय प्रमुख तिवारीले बताए । ‘मुद्दा फाँटको जटिल काम रोकिएका छन्’निमित्त कार्यालय प्रमुख तिवारीले भने,‘त्यसैगरि आर्थिक कामकाज ठप्प रहेको छ ।’ कार्यालय प्रमुख नहुँदा कर्मचारीले तलबसमेत नपाएको उनले जनाए । सबै काम गर्ने अधिकार निमित्त प्रमुखलाई हुदैन र अधिकार रहेको सामान्य काम गरिरहेको निमित्त प्रमुख तिवारीले सुनाए ।

‘कार्यालय प्रमुख नहुँदा कामकाज ठप्प रहेको विभागलाई पटक पटक जानकारी गराएको छु’निमित्त प्रमुख तिवारीले भने,‘त्यसैगरि सिडिओ साबलाई भेटेर जानकारी गराएको छु ।’ मंगलबार बिहान पनि विभागको महासचिवसंग कुरा गरेको छु । विभागले कार्यालय प्रमुख तोक्नको लागि फाईल भुमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाएको जवाफ दिनु भएको छ । सम्भवतःछिट्टै कार्यालय प्रमुख आउने तिवारीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर