विषादीयुक्त भारतीय बैखा माछा गुलरियामा खुलेआम बिक्री
बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

उपभोक्ताको स्वास्थ्यमा असर पर्दै

दिनेश ठाकुर

बर्दिया,चैत ८/ गुलरिया नगरपालिका– १० प्रसियाकी दसिया थारु अस्पताल भर्ना भईन । उनलाई चिकित्सकले शरिरमा रगतको कमी र पिसाबमा संक्रमण भएको बताएका थिए । एक हप्ताको अस्पतालको बसाईपछि अहिले थारु घर फर्किएकि छिन् । बिरामी हुनु भन्दा अघिल्लो साँझ भारतिय सिमावर्ती चित्लहवा बजारबाट बैखा (पंगास) जातको माछा ल्याई थारुले खाएकी थिईन । माछा खाएको केही घण्टा पछि उनि बिरामी भएर अस्पताल भर्ना भईन्् ।

गुलरियामा बिषादीयुक्त बैखा जातका माछाको खुल्लम खुल्ला बिक्रि बितरण भईरहेको पाईन्छ । अन्य माछाको तुलनामा सस्तो दरमा पाइने भएपछि बैखा माछाको व्यापक रुपमा बिक्रि बितरण भईरहेको छ । माछा ब्यापारीका अनुसार नेपालगंज नाका हुदै भित्र्याइने बैखा जातका माछा गुलरियामा महिनौ दिन पछिसम्म बिक्रि हुन्छ ।

भारतबाट भित्र्याइ यस क्षेत्रमा बिक्रि बितरण गरिदै आएका यी माछा खाँदा बिभिन्न रोगहरु समेत लाग्न सक्ने स्वास्थ्यकर्मीहरु बताउछन् । भारतबाट भित्र्याइने बैखा माछा स्थानीय सरकारले निषेध नै गर्नु पर्ने बर्दियाका माछा उत्पादन ब्यवसायि बताउछन् । यी माछालाई स्थानीय सरकारले पूर्णरुपमा बिक्रि बितरणमा रोक लगाउन आवश्यक रहेको माछा उत्पादन व्यवसायीहरुको भनाई छ । मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ ।

यो विषादी मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्याउन सक्छ । विशेष गरि भारतको आन्ध्र प्रदेशबाट नेपालमा बैखा जातको माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् ।

तर, यस्तो फर्मालिन हालेको माछाको प्रयोग मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । चिकित्सकका अनुसार यसले विशेष गरी मुटु र मिर्गौलालाई असर गर्छ । यसै गरी पेट पोल्ने, पाचन शक्ति कमजोर गराउने, अल्सर हुनेसहित स्नायुमा समेत असर गर्ने गर्छ । तर त्यस्ता माछा खुलेआम बजारमा बिक्री भइरहेको छ । यस्तो किसिमका माछाको बिक्री वितरण रोक्न सम्बन्धित निकायले अनुगमन गर्न जरुरी रहेको देखिन्छ ।

नेपाली माछाहरूमा विषादीको प्रयोग नगरिने भएकाले केही दिनमा गन्हाउन थाल्छ । तर भारतबाट भित्रिएका माछामा फर्मालिन राखेर लामो समयसम्म नबिग्रिने बनाइन्छ । फर्मालिनको मात्रा बढी हुँदा क्यान्सर रोगको जोखिम हुन्छ । त्यस्तो माछा महिना दिनसम्म राख्दा समेत गन्हाउँदैन । नाकामा क्वारेनटाइन सेवा एकदमै फितलो हुँदा माछा जाँच नै नभई भित्रिरहेको छ । त्यति मात्र हैन, नाकामा माछा जाँचका लागि कुनै पनि इक्युपमेन्ट नै छैन ।

यस्तो अवस्थामा उपभोक्ता आफै सचेत हुनु पर्ने बेला आएको छ । नेपाली र भारतीय माछा पहिचान गर्न सकिन्छ । भारतबाट आयातित माछा उस्तै आकारका देखिने गरी ग्रेडिङ गरिएका हुन्छन् । नेपाली माछा भने ग्रेडिङ गरेर बेच्ने चलन छैन । त्यसैले नेपालका माछा एकै ठाउँमा विभिन्न आकारका हुन्छन् ।

भारतबाट ल्याइएका माछा लामो समय देखि रहेको र विषादीको प्रयोग गरिएका कारण आँखा गढेका हुन्छन् । नेपाली माछा केही समय पहिलेका मात्र हुने भएकाले आँखा चम्किला देखिन्छन् । त्यसैले उपभोक्ताले माछा किन्दा सस्तो भन्दा पनि स्वास्थ्यलाई ख्याल गरेर पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर