प्रतिनिधिसभामा पराजित पन्थको कृषि फर्ममा फुल्न थाले ‘सुन कागती’
शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित

बर्दिया,चैत ९ / प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र–२ बाट झिनो मतले पराजित सुरेश पन्थको ध्यान कृषि कर्मले तानेको छ। उनी सुन कागतीको वृहत् खेती, माछापालन र पाडो पाल्ने ध्याउन्नमा छन्। कागती उत्पादन गरेर देशलाईनै आत्मनिर्भर बनाउने अठोट पन्थको छ।

पन्थ यत्तिकैमा रोकिने वाला छैनन्। उनको पाइपलाइनमा सबै प्रकारका तरकारी, अधिकांश फलफूल, मोरिगां, थारु आलु, काँडे बाँसलगायतका बिरुवा र बिउ उत्पादन योजना पनि छन्। यी योजना पनि सँगसँगै कार्यान्वयन गर्दै छन्।

हिजोआज उनी मधुवन र गुलरिया नगरपालिकामा स्थापना गरिएका कृषि फर्ममा व्यस्त छन्। राजनीतिलाई उत्पादनसँग जोड्ने उद्देश्यले कृषि कर्ममा लागेको नेकपा माओवादी केन्द्रका नेता पन्थको भनाई छ। गुलरिया–४ स्थित बाझो ३४ बिगाहा जमिनमा सुन कागतीको विस्तारसँगै माछा पालन र अर्ग्यानिक मल उत्पादनका लागि पाडा पाल्न थालिसकेका छन्।

उक्त जमिन लिजमा लिएर सुरु गरिएको कृषि फर्ममा सुन कागती विस्तारसँगै माछा पालन र अर्ग्यानिक मल उत्पादनका लागि फर्ममा खोर निर्माण कार्य भइरहेको छ। चार वर्ष अघि मधुवनमा कृषि कर्म सुरु गरेका उनले ठुलो क्षेत्रफलमा सदरमुकाम गुलरिया नजिकैको बाँझो जग्गा लिजमा लिएर कृषि फर्म विस्तार गरेका हुन। गुलरियाको फर्ममा लगाइएका कागतीमा फुल फुल्न सुरु भएको छ। ३४ बिघाहामध्ये माछापालनको लागि १२ बिघाहा छुटाएर सरसफाइ गरिएको छ भने पाडा पाल्नका भौतिक पूर्वाधार निर्माणको चरणमा छ।

मधुवनमा उनको आफ्नो जग्गामा लगाएका कागतीको बोटमा बतिला कागती देखिन थालेका छन्। हाईटेक नर्सरीमा बिरुवा उत्पादन गरेर सिजनल तरकारी उत्पादन गर्नका लागि उनको प्रयास जारी छ। यसवर्ष स्थानीय जातको थारु आलु उत्पादन गरेर थन्काएपछि फर्ममा रोपेका लसुन, प्याज, काँक्रा, भिण्डी, टमाटरका बिरुवा समेत कृषि फर्ममा हुर्कँदै छन्।

‘यस वर्ष उत्पादनको भएको स्थानीय थारु आलुलाई बिउँको लागि राखेको छु’, उनले भने, ‘आउने सिजनमा स्थानीय थारु आलु भारी मात्रा उत्पादन गरेर यही फर्मबाट बिक्री हुन्छ।’ सरकारले गरेको लकडाउन घोषणासँगै कृषिमा लगानी गर्न पर्ने नयाँ जुक्ति फुरेको पन्थ बत्ताउँछन्। ‘गाउँमै बस्छु ,कृषि कर्म गर्छु, भूगोलको मायाले लगानी गर्न मन लागेको हो’, उनले भने, ‘मधुवनमा सुरु गरेको कृषि फर्म र गुलरिया लिजमा लिएको कृषि फर्मलाई विभिन्न कोणबाट विज्ञको सल्लाह अनुसार विस्तार गरिरहेको छु।’

नयाँ ढङ्गबाट काम गर्ने सोच बनाएका उनले सुरुवातमा पाँच बिगाहामा कागती खेती गर्ने सोच बनाएर अघि बढेका थिए। विज्ञको सहयोगमा माटो परीक्षण गर्दा कृषि कर्मबाट लाभ लिन सकिने देखिएको पन्थले योजना सुनाए। कृषि ईच्छाले गर्दा घाटा ब्यहोर्न परेको उल्लेख गर्दे शिक्षाले गरिएको कृषिबाट दीर्घकालीन रूपमा लाभ लिन सकिने र सफल हुनेमा उनले विश्वास व्यक्त गर्छन्।

धनकुटा कृषि अनुसन्धानबाट केन्द्रबाट टिस्यु कल्चर गरिएका सुन कागतीको बिरुवा ल्याएर हजारौँ बिरुवा बाँझो खेतमा लगाएका हुन। कृषि कर्म बिस्तार गर्न मोरिगां (शीतल चिनी) लागाउने उनको थप योजना छ। जङ्गली जनवारबाट पीडित किसानलाई लाभ हुने काँडे बाँस लगाउनका लागि हाइटेक नर्सरीमा उनले बाँसको बिरुवा उत्पादन सुरु गरेका छन्। अघिल्ला वर्षमा कागतीसँगै मेवा खरबुजा लगाएको उनी बताउँछन्। नेपालमा कागतीको माग उच्च भएकाले कागती खेतीबाट प्रभावित भएको उनले बताए।

लकडाउन अवधिमा कृषिमा लगानी गर्दा पश्चिम क्षेत्रमा समावेशी कृषि फर्म उदाहरणीय भएको उनी दाबी गर्छन्। बिरुवा उत्पादनको लागि सुविधा सम्पन्न टनेल हाउस निर्माण गरेका उनले बिरुवा उत्पादन सुरु गरेर ठुलो क्षेत्रमा कृषि कर्मलाई बिस्तार गर्ने उनको लक्ष्य छ।

लकडाउनमा पाँच बिगाहा क्षेत्रफलमा कागती लगाएर नमुना काम गरेको चर्चा बटुलेका उनको कृषि फर्ममा सबै बिरुवा सप्रिँदै, फुल्दै र फल्दै छन्। जग्गा बाहेक कागती हुर्काउन पन्थले धेरै लगानी गरेका छन्। उनले कागतीमा मात्र तीन करोड रुपैयाँ लगानी भइसकेको दाबी गरे।

कृषि कर्मबाट देशमै पिछडिएको यस क्षेत्रलाई कृषिको माध्यमबाट चिनाउने उनको धोको छ। ‘म आफू मात्र व्यस्त नभएर सङ्कटको अवस्थामा रोजगारी पाउँदा स्थानीय पनि खुसी भए’, उनले भने, ‘सानो सोच बनाएर कागतीमा रोपेको होइन, कृषि कर्ममा मैले भविष्य देखेको छु।’

देशलाई नै कागतीले आत्मनिर्भर गराउने उद्देश्यले कृषि क्षेत्र विस्तार गरिरहेको उनले सुनाए। ‘बर्सेनि तीन अर्ब बढीको कागती नेपाल भित्रिएको थाहा पाएपछि बल्ल मेरो आँखा खुलेको हो,’ उनले भने, ‘परम्परागत तरिकाले कृषि कर्मबाट फाइदा लिन नसकिएको हो, विज्ञको सल्लाह लिएर काम गरेकाले पक्कै सफल हुन्छु।’

फाइदा मात्र नसोचेर कृषि कर्म नगरेको उनी बताउँछन्। ‘यो मेरो पाइलट प्रोजेक्ट जस्तै हो,’ उनले भने, ‘कृषिमा आश्रित किसानले कृषि फर्मबाट सिक्ने मौका पाउँछन्, यस बाट अधिकांश किसान लाभान्वित हुने विश्वास लिएको छु।’स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर