कुशको शव बनाएर अन्तिम दाहसंस्कार
बिहिबार, चैत १५, २०८० मा प्रकाशित

बर्दिया,चैत १५(फरकसमाचार)/ द्वन्द्व कालमा बेपत्ता पारिएका हुकुम बहादुर शाहीको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । बेपत्ता पारिएको २२ वर्षमा शाहीको परिवारले बुधबार आफ्नो संस्कार अनुसार कुशको शव बनाएर दाहसंस्कार गरेको हो ।

बेपत्ता पारिएको लामो समय बितिसक्दा पनि राज्यले सत्य तथ्य सार्वजनिक गर्न नसक्दा बेपत्ता परिवारका आफन्तले आश मार्दै कुशको शव बनाएर अन्तिम दाहसंस्कार गर्न बाध्य भईरहेका छन् ।

विस २०५८ साल फागुन २४ गते श्रीमानलाई बलपुर्वक राज्य पक्षले बेपत्ता पारेको ठाकुरबाबा नगरपालिका–८ सुतैयाकी जयन्ती शाहीले बताईन् । बेपत्ता श्रीमानको क्रिया नगर्दा सामाजिक रुपमा दबाब आईरहेको थियो । घरमा केही हुने बित्तिकै क्रिया नगरेकोले त्यस्तो भएको समाजमा कुरा काटेको सुनिन्थ्यो ।

लामो समय बितिसक्दा विभिन्न बाहानामा राज्यले बेपत्ताहरुको अवस्थाको बारेमा सत्य तथ्य सार्वजनिक गर्न नसक्दा धेरै समस्या भोग्नु पर्यो । बेपत्ता श्रीमान कतैबाट आईहाल्नु हुन्छकी आश थियो । अन्तर आत्मले नमाने पनि सामाजिक दबावले दाहसंस्कार गर्न बाध्य भएको उनको भनाई छ ।

वेपत्ता पारिएका ब्यक्तिको अवस्थाको सवालमा सरकारको जवाफहिनताले पीडित परिवार अत्यासमा छन् । वेपत्ता पारिएका ब्यक्तिको बारेमा सरकारको गैरजवाफदेहिताका कारण सृजित परिवार, सामाजिक, सांस्कृतिक, कानुनी समस्याका कारण कुशको शव बनाएर पिडित परिवारले अन्तिम दाहसंस्कार गर्न बाध्य भइरहेका छन् ।

बर्दियामा २ सय ५० जना बेपत्ता पारिएको तथ्यांक रहेको द्वन्द्व पिडित समितिका कार्यक्रम संयोजक मान बहादुर चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय