काठेखोला भलिबल प्रतियोगिता हुने
आइतबार, माघ ०५, २०७६ मा प्रकाशित

बागलुङ, माघ ५ : भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित काठेखोला गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ । यही माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा गाउँपालिकाभित्रका प्रत्येक वडाबाट बढीमा दुई समूहले सहभागिता जनाउने छन् । गाउँपालिकामा आठ वडा छन् । प्रतियोगिताको विजेताले नगद एक लाख ३२ हजार र उपविजेताले ८० हजार पुरस्कार पाउने गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए । राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै खेलाडी पहिचानका लागि प्रतियोगिता राखिएको हो, उनले भने । गाउँपालिकाले भलिबलसँगै साङ्गीतिक प्रतियोगताका लागि चालु आर्थिक वर्षमा १५ लाख बजेट छुट्टाएको थियो । प्रतियोगिता गाउँपालिकाको वडा नं ३ धम्जामा हुने जनाइएको छ ।

सोही अवसरमा गायन प्रतियोगिता काठेखोला लोकतारा२०७६ समेत आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले ३० हजार, फस्ट रनरअपले २० हजार, सेकेण्ड रनरअपले १० हजार र सान्त्वना हुनेले २५ सय पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

यस्तै साहित्यको लोकप्रिय विधा गजलको पनि प्रतियोगिता राखिएको छ । गजलमा प्रथम हुनेलाई १० हजार, द्धितीयलाई सात हजार र तृतीय हुनेलाई पाँच हजारको पुरस्कार व्यवस्था गरिएको छ । सोही अवसरमा आयोजित सोरठी गीत प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्धितीय हुनेले २० हजार र तृतीयले १० हजार पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ ।

कक्षा १० सम्मका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई सात हजार र तृतीय हुनेलाई पाँच हजार पुरस्कारको प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय