अलपत्र आयुर्वेद भवन
आइतबार, माघ ०५, २०७६ मा प्रकाशित

खाँदबारी, माघ ५ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा निर्माणाधीन आयुर्वेद कार्यालयको भवन अलपत्र बनेको छ । गलत डिजाइनका कारण भवन निर्माण नभएपछि अलपत्र भएको हो । भवन अलपत्र भएपछि कार्यालयको सेवा भत्किएको भवनबाट दिँदै आइएको छ ।

वडा नं १, २ र ३ को सङ्गमस्थल सिसुवाटार बुधबारेमा निर्माणाधीन भवन अलपत्र भएको छ । निकै पुरानो र भत्ँिकदै गरेको सानो घरबाट सेवा सञ्चालन गरिएको छ । जीर्ण भवनबाट स्वास्थ्य सेवा दिएको वर्षांै बितेको स्थानीयवासी बताउँछन् । औषधालयको पुरानो भवन छेउमा नयाँ बनाउन शुरु गरिएको छ वर्ष बिते पनि पिल्लर उठाउनुबाहेक थप प्रगति हुन सकेको छैन ।

एक कविराजसहित तीनजनाको दरबन्दी रहेको आयुर्वेद औषधालयको पुरानो भवन कतिखेर भत्किने हो कुनै टुङ्गो छैन । भवनको ठाउँठाउँमा भत्किएको भित्तालाई कार्टुनले टालेर स्वाथ्यकर्मी बस्दै आएका छन् । जीर्ण भवन मर्मतसमेत भएको छैन जसका कारण हावा छेक्नका लागि औषधि ल्याइएका कार्टुनले टालेर बस्नु परेको बताइएको छ । विसं २०७१ मा तत्कालीन आयुर्वेद विभागबाट जिविस हुँदै ४० लाखबाट केही पिल्लरमात्र ठड्याइएको हो । प्राविधिक कारणले भवन निर्माणले पूर्णता नपाएको गाउँपालिकाका अध्यक्ष राम कुलुङले बताए ।

निर्माणाधीन संरचनाको अध्ययनका लागि इन्जिनीयर लगेर स्थलगत अध्ययन गरेका थियौँ, उनले भने, थप निर्माण गर्न नसक्ने प्राविधिकले प्रतिवेदन दिएपछि काम रोक्यौँ, भवनको बीचतिर कुनै पनि पिल्लर छैन, छेउछेउमा मात्र छ, त्यसले एक तला ढलानसमेत थाम्दैन, त्यही भएर लगानी नगरेका हौँ ।

संरचनालाई भत्काएर अर्को संरचना निर्माण गर्नका लागि पहल गर्दा पनि भत्काउन नमिल्ने वडा नं २ का अध्यक्ष मोहनशम्शेर राईले बताए । अर्को आवश्यक पर्ने जग्गा नभएकाले नयाँ भवन बनाउन समस्या भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर