रामग्रामलाई पोषणयुक्त बनाइँदै
बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

परासी, माघ ८ : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई षोषणयुक्त नगर बनाउन कार्ययोजना बनाइएको छ । कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी तथा सरोकार पक्षले सामूहिक प्रतिबद्धतासमेत जनाएका छन् ।

मातृ शिशु तथा किशोरकिशोरीको पोषणस्थितिमा सुधार ल्याउन यस किसिमको योजना बनाइएको नगरपालिकाले जनाएको छ । बालमैत्री अभियानलाई समेत सघाउ पुग्ने गरी नगरपालिकालाई स्वच्छ, सफा, स्वस्थ्य र पोषणयुक्त नगर बनाउन कार्ययोजना निर्माण गरी सामूहिक प्रतिबद्धत गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले बताए ।

उनीले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन र दीगो विकासको लक्ष्य प्राप्तिका लागि अभियानले इँट्टा थप्ने छ, प्रतिबद्धता अनुसार यसवर्षका क्रियाकलाप तय गरी वार्षिक तथा त्रैमासिक योजना बनाइ कार्यान्वयका लागि अर्का वर्षदेखि प्रतिबद्धता अनुसारको योजना बनाइ योजना निर्माण प्रक्रियाको माध्ययमबाट नगरपालिकाको वार्षिक कार्यक्रममा समाहित गरी कार्यान्वयन गर्नेछौँ’

कार्ययोजना अनुसार एकीकृत पोषणसँग सम्बन्धित नीतिगत व्यवस्था तथा कार्यान्वयनलाई सुदृढ गर्न ‘रामग्राम नगरपालिकाको सरोकार स्वच्छ पारदर्शी विकासमुखी स्थानीय सरकार’ नारालाई साकार पार्न समृद्धिको योजना सञ्चालन गरिनेछ । ‘नगर प्रमुखसँग उद्यमशीलता विकास कार्यक्रम‘ लागू गरी समाजमा पछि परेका वर्ग, समुदायको सीप र क्षमता बढाउने कार्यक्रम सञ्चालन गर्ने, स्थानीय बालमैत्री शासन नगरका पूर्वाधार विकास गर्ने, बालश्रमुक्त नगर तथा बालमैत्री नगर घोषणा गर्न आवश्यक मापदण्ड पूरा गर्ने साथै बालश्रम विरुद्घ शून्य सहनशीलताको नीति अवलम्बन गर्ने योजना अघि सारिएको छ ।

नगरपालिका क्षेत्रभित्र दाईजो, बालविवाह, छुवाछुत जस्ता सामाजिक कुरीति र कुप्रथा अन्त्य गर्न सचेतनामुूलक सामाजिक जागरण कार्यक्रम सञ्चालन गर्ने, एक घर दुई बिरुवा रोप्ने अभियान प्रभावकारी बनाइ नगरलाई सुन्दर, हराभरा र प्रकृतिमैत्री बनाउने, छोरी बचाऊ, छोरी पढाऊ भन्ने अभियान सञ्चालन गरी महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी समानता र समतामूलक समाजको निर्माण गर्ने योजना पनि अघि सारिएको नगर उपप्रमुख रम्भा कुँंवरले बताए ।

सुनौला एक हजार दिनका आमालाई प्रोत्साहन गर्ने कार्यक्रम, पोषणमैत्री स्थानीय शासनको अवधारणा अवलम्बन गरी यस नगरपालिकालाई पोषणमैत्री बनाउने नीति अवलम्बन गर्ने स्वास्थ्य शाखा प्रमुख कृष्ण चौधरीले बताए । उनीले भने, ‘आधारभूत स्वास्थ्य र सुरक्षित मातृत्व कार्यक्रमलाई नगरपालिकाभरि लागू गर्ने, हजार दिने आमा तथा लक्षित समुदायमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बर्थिङ सेन्टरको विस्तार गरी पूर्ण संस्थागत प्रसूति कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति पनि हामीले लिएका छौँ ।’

नगरपालिकाले अब विद्यालय व्यवस्थापन समितिमा बालबालिकालाई पनि समावेस गर्ने भएको छ । शिक्षा शाखा प्रमुख बल्लाभाचार्य गिरीले भने, ‘सामुदायिक विद्यलयहरूको गुणस्तरमा अभिवृद्धि गर्ने, विद्यालयमा बालमैत्री वातावरणको सिर्जना गर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजाको निरन्तरता साथै दिवा खाजामा स्थानीय पोसिला खाध्य पदार्थको प्रयोग गर्ने नीति लिएर हामी कार्यान्वयनमा गएका छौँ, जङ्क फुड निषेधित विद्यालय घोषणा अभियानलाई अगाडि बढाउने, विद्यालयका किशोरीका लागि पोषण, महिनावारी स्वच्छता र सरसफाइ सम्बन्धी अभिमुखिकरण कार्यक्रम लागू गरेका छौँ ।’

स्वस्थ र स्वच्छ खानेपानीमा सबै नगरवासीको पहुँच पु¥याउने तथा नगर सरसफाइ सम्बन्धी गुरुयोजना पनि बनाइने भएको छ । एक घर एक करेसाबारी जैविक तरकारी र फलफुलका बिरुवा अभियान सञ्चालन गरिने भएको छ । आधुनिक शीत भण्डारको निर्माण, कृषि हाटबजारको व्यवस्थापन गरी साथै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर