लोपोन्मुख थारु नाचको संरक्षण हुँदै
बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

खस्यौली, माघ ८ : रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताए ।

‘परम्परागत यी नाच हाम्रा पूर्खाले सिर्जना गरेका हुन त्यसैले यसको संरक्षण आवश्यक छ’, सैनामैना नगरपालिका–८ स्थित भड्छाका बुद्धिराम थारुले भने । उक्त वडास्थित भडछामा यही माघ ९, १० र ११ गते तीन दिनसम्म भडछा महोत्सव तथा आंैसी मेलाको आयोजना हुन लागेको छ । दिनभर काममा थाकेर बेलुका मनोरञ्जन गर्न थारु समुदायले आफ्नो संस्कृतिका रुपमा माघी औंसीको समयमा यस्तो मेला गर्दै आएका बताइएको छ ।

विसं १९६७ देखि आयोजना हँुदै आएको थारु समुदायको भडसा महोत्सव तथा माघी मेला रातमा हुने मेलाका रुपमासमेत परिचित भएको स्थानीयवासीले बताएका छन् । थारु संस्कार र संस्कृतिको जर्गेना नगरी थारुको पहिचान नहुने उल्लेख गर्दै स्थानीय अगुवा थारुले महोत्सवका लागि नगरपालिकाले सात लाख आर्थिक सहयोग गरेको जानकारी दिए । गत वर्ष नगरपालिकाले चार लाख आर्थिक सहयोग गरेको थियो । भडछा महोत्सवलाई थारु समेदायले नाच्ने झुमडा र झर्रा नाचको उदगम थलो समेत मानिएको छ ।

महोत्सवका सांस्कृतिक संयोजक रामबहादुर थारुले यी दुबै नाच थारु समुदाय दिनभर काममा व्यस्त भएर रातमा मनोरञ्जन गर्ने परम्परागत संस्कृतिको रुपमा रहेका र यसको जर्गेना गर्न थालिएको जानकारी दिए । उनीले बड्का नाच सैनामैनास्थित बिचवापुरबाट मात्रै करीब ४० वर्षपछि यस क्षेत्रमा प्रर्दशन भएको उल्लेख गरे । पर्यटकीयस्थल लुम्बिनीबाट करिब २० किलोमिटर उत्तर र बुटवलबाट करिब १८ किमी पश्चिम प्रसिद्ध पुरातात्विक मलमला मन्दिरको काखमा सो महोत्सव हुन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय