गैरसरकारी संस्थाको नवीकरण न्यून
शनिबार, माघ १८, २०७६ मा प्रकाशित

लमजुङ, माघ १८ : लमजुङमा एक हजार ५८२ गैरसरकारी संस्था (गैसस) दर्ता भएका छन् । तीमध्ये नवीकरण गर्नेको संख्या अत्यन्त न्यून रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयको तथ्यांकमा यस वर्ष नवीकरण गर्ने गैरसरकारी संस्थाको संख्या जम्मा २९३ मात्रै रहेका छन् । दर्ता भएका अधिकांश गैरसरकारी संस्थाले बुझेर वा नबुझेर, प्रक्रिया नपुगेकाले नवीकरण गर्न नआएको हुनसक्ने प्रशासन कार्यालयले जनाएको छ । गैरसरकारी संस्थाको मुख्य काम सामाजिक अभियानमार्फत नागरिकलाई अधिकार र कर्तव्यका बारेमा बोध गराउने र समाजमा रहेका विभिन्नखाले समस्या समाधानका लागि सहकार्य गर्ने भए पनि अधिकांश गैरसरकारी संस्थाले सो कार्य गर्न नसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्काले बताए ।

सामाजिक काम गर्ने भनेर विभिन्न उद्देश्य राखेर जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्था विभिन्न अपेक्षा राखेर दर्ता हुने र उद्देश्यअनुसारको काम गर्न नसक्ने, बीचैमा संस्था बन्द हुने, नवीकरण नगर्नेलगायतका समस्या रहेको सहायक प्रमुख जिल्ला अधिकारी राजिमान सुनारको भनाइ छ । उनले भने, ‘जिल्लामा सामाजिक अभियान सञ्चालन गरी समाज रूपान्तरण गर्ने र अभियानमार्फत नागरिक अधिकारका बारेमा बोध गराउने, नागरिक सशक्तीकरण गर्ने, जागरण ल्याउने उद्देश्यका साथ गैरसरकारी संस्था दर्ता हुने गर्दछन् ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका अधिकांश गैरसरकारी संस्था अहिले क्रियाशील छैनन् । नियमित संस्था दर्ता नगरे पनि जरिवानाका साथ आवश्यक परेमा नवीकरण गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ ।

गैरसरकारी संस्था महासंघ नेपाल लमजुङ शाखाका अध्यक्ष प्रेमबहादुर भट्टराईले भने, ‘पछिल्लो समय गैरसरकारी संस्थालाई काम गर्ने उचित वातावरण नभएका कारण धेरै गैसस बन्द हुने अवस्थामा पुगेको छ ।त्यस्तै, कतिपय संस्थालाई नवीकरण गर्नुपर्छ भन्ने पनि जानकारी नभएका, क्रियाशील नभएका कारण नवीकरणका लागि प्रक्रिया नपुगेर पनि केही गैससले प्रशासनमा दर्ता नगरेको उनको भनाइ छ । सम्बन्धित निकायको चासो तथा अनुगमन कम हुँदा कतिपय गैसस दर्ताविना नै जिल्लामा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर