पहिलो खेलमा भारतको कञ्चनजंघा विजयी
शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित

धनगढी, फागुन ९ : स्थानीय रंगशालामा भएको आजको पहिलो खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेको छ । वाग्मती युवा क्लब सिराहलाई टाइब्रेकरमा४–२गोलले हराउँदै कञ्चनजंंघा क्वाटरफाइनल प्रवेश गरेको हो । निर्धारित समयसम्म दुबै टिमले गोलरहित बराबरी खेलेपछि भएको टाइब्रेकरमा कञ्चनजंघालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने ।

सिंहले वाग्मतीका विपीन तुमसिङमगर र अनिल मगरको प्रहारलाई रोकेका हुन् । यसअघिको दुवै हाफमा कञ्चनजंघाले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल गर्न नसकेपछि टाइव्रेकरबाट छिनोफानो गरिएको हो । कञ्चनजंघाका निगम सिंह ‘म्यान अफ द म्याच‘घोषित भई पुरस्कृत भए । पहिलो खेलमा जित हात पारेको कञ्चनजंघाले अब सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता अन्तर्गत शनिवार सशस्त्र प्रहरी बलको एपिएफ र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख सहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशमा हुने एक मात्रै गोल्डकप फुटबल प्रतियोगिता हो ।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

खेलकूदको विकास प्राथमिकतामा

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले खेलकूदको विकासलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् । आज यहाँ शुरु भएको चौंथो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम अन्तरर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप२०७६‘को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री भट्टले राष्ट्रलाई चिनाउन र स्वस्थ जीवनका लागि खेलकूद आवश्यक रहेकोमा जोड दिए ।

उनले भने, ‘कैलालीको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय खेलकूद मैदान बनाउने प्रयास सरकारले गरिरहेको छ ।’ कार्यक्रममा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमाल लगायतले खेलकूदको महत्वका बारेमा प्रकाश पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर