डेब्यु नगर्दै अगुएरो घाइते
मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित

एजेन्सी, साउन २६ / नयाँ सिजनको सुरुवातको नजिकमा बार्सिलोना र प्रशिक्षक रोनाल्ड कोम्यानका लागि सुखद रहेनन् । सुपर स्टार लिओनल मेस्सीलाई क्लबमै राख्न असफल बार्सिलोनामा नयाँ खेलाडीका रुपमा आबद्ध भएका सर्जियो अगुएरोले सिजनको सुरुवात गर्न नसक्ने भएका छन् ।

आइतबार अभ्यासका दौरान मेस्सीको निकटका मित्र अगुएरो घाइते भएको छन् । जसका कारण उनी दुई देखि तीन महिना मैदान बाहिर रहनुपर्ने भएको छ । बार्सिलोनाले आइतबार दिउँसो अगुएरोको दायाँ गोलीगाठाको थोरै माथिको भागमा समस्या भएको जनाएको छ । चोटबारे विस्तृत जानकारीका लागि बाँकी जाँच गर्नुपर्ने बताइएको छ ।

अगुएरो कम्तीमा नोभेम्बरसम्म मैदान बाहिर रहन सक्ने अनुमान गरिएको छ । चोटको प्रारम्भिक परिक्षणले खराब अवस्था रहेको अनुमान गरिएको थियो । जसका कारण उनी मेस्सीको बिदाइमा राखिएको पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन् । त्यस्तै सोही दिन युभेन्ट्सविरुद्धको जोन ग्याम्पर ट्रफीका लागि भएको प्रतिस्पर्धामा पनि उनको उपस्थिति रहेन ।

प्रशिक्षक कोम्यानले अगुएरोको अवस्थाका बारेमा जानकारी दिँदै आफू पछिल्लो अवस्थाबाट निराश रहेको बताए । ‘उनी चोटग्रस्त भएका छन् । हामीले अब उनलाई प्रतीक्षा गर्नुपर्ने भएको छ । प्रशिक्षण राम्रै भइरहेको थियो,’ उनले भने ।

बार्सिलोनाका युवा स्टार अन्सु फाती र उस्मान डेम्बेले पनि चोटग्रस्त छन् । फिलिपे काउटिन्हो चोटमुक्त भएर फर्केपनि युभेन्ट्सविरुद्धको खेलमा भने उनले मौका पाएनन् ।हाम्रोखेलकुदबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय