खेलकुदले विश्वमा नै नेपालको छवि उच्च बनाएको छ : मन्त्री आङ्बो
बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित

मङ्गलबारे, फागुन १५ : प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले खेलकुद क्षेत्रको विकासले हरेक देशको विकास मापन हुने बताएका छन् ।

इलाममा आजबाट शुरु भएको माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले दक्षिण एशियाली १३औँ साग प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनले स्वदेशमा मात्र नभई विश्वमा नै देशको छवि उच्च भएको बताए ।

पछिल्लो समयमा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मैदानमा देखाएको प्रस्तुतीले नेपाल र नेपालीको छवि उच्च भएको उल्लेख गर्दै उनले हाल देशमा रहेका तीनै तहका सरकारले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

आजदेखि शुरु भएको प्रतियोगितामा १० खेलाडी टोलीको सहभागिता रहेको छ । आगामी फागुन २४ गते प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई आठ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिए । यस खेललाई पूर्वी पहाडी क्षेत्रकै प्रतिष्ठित प्रतियोगिताका रुपमा लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर