जातीय विभेदका तीन आरोपी धरौटीमा रिहा
बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

कास्की, जेठ १ : कास्कीमा जातीय विभेद गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन् ।

पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा निर्माण गरिएको सार्वजनिक किरियापुत्री भवन दलितलाई प्रयोग गर्न नदिएको अभियोगमा पक्राउ परेका स्थानीय रामबहादुर जिसी, देवबहादुर थापा र जनक थापा बुधबार जिल्ला अदालत कास्कीको आदेशमा रिहा भएका हुन् ।

जिल्ला न्यायाधीश डण्डपाणि शर्माको इजलासले तीनै जनालाई जनही एक लाख ७० हजारका दरले धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको र तोकेको धरौटी बुझाएपछि उनीहरु रिहा भएको अदालतका श्रेस्तेदार हरिशचन्द्र गौतमले जानकारी दिए ।

सार्वजनिक जग्गामा बनेको भवन प्रयोग गर्न बाटुलेचौरका मोहन सुनारले गत चैत २३ मा भवनको चाबी माग्दा नदिएपछि पीडितले आफूमाथि जातीय विभेदजन्य घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा वैशाख १९ गते जाहेरी दिएका थिए । पीडितको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो ।

आफ्ना दाइ सम्मरबहादुर सुनारको दुबइमा निधन भएपछि मोहनले पोखरा महानगरपालिकाको समेत लगानीमा बनेको किरियापुत्री भवन प्रयोग गर्न दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय