राहत र काम पाएपछि मजदुरलाई खुशी
आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

दमौली, जेठ १८ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले बन्दाबन्दीकै बीचमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले प्रभावित वडास्तरीय विकास निर्माणका कामलाई निरन्तरता दिइएको हो ।

बन्दाबन्दीबाट प्रभावित भएर राहत बुझेका वडाभित्रका मजदुरलाई काममा खटाएर भौतिक विकास निर्माणका कामलाई सुचारु गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । “बन्दाबन्दीबाट काम नपाएर समस्यामा परेका मजदुरलाई राहत वितरण गरेका थियौँ, सोही मजदुरलाई राहत होइन काम दिने उद्देश्यले विकास निर्माणका कामलाई सुरु गरेका हौँ”, उनले भने । दैनिक ज्यालादारी गर्नेहरु बन्दाबन्दीकै क्रममा पनि काम पाएपछि खुशी भएका छन् ।

वडा कार्यालयले चालू आर्थिक वर्षका लागि विनियोजित भएको बजेटबाट खानेपानी योजनाको ट्याङ्की निर्माण, बाटो सुधार, दुर्गा मन्दिर निर्माणलगायतका काम सुरु गरेको छ । ती सबै कामका लागि वडा कार्यालयले १ सय ५० मजदुरलाई रोजगारी दिएको छ । उनका अनुसार छरछरे खानेपानी योजनाको एक लाख लिटर क्षमताको ट्याङ्की निर्माण, ढोरवाराही मन्दिर जाने मार्ग, दुर्गामार्ग सुधारको काम सुरु गरिएको छ ।

“सधैँ राहत दिनेभन्दा पनि काम गर्ने वातावरण मिलाइदिन मजदुरले आग्रह गरेपछि उनीहरुलाई काममा लगाएका छौँ”, उनले भने । मजदुरको सङ्ख्या अत्यधिक भएकाले सबैलाई सम्बोधन गर्न नसके पनि केहीको चुलो बाल्ने प्रयास गरिएको रेग्मीले बताए ।

वडा कार्यालयले विभिन्न व्यक्तिसँग सहयोग उठाएर ३ सय ३८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको थियो । आगामी दिनमा पनि बन्दाबन्दीको क्रममा सडकमा नाला निर्माण तथा मर्मत एवं सरसफाइ, कृषि तथा उत्पादनमूलक क्षेत्रमा मजदुर खटाइने छ ।

त्यसरी काममा खटाइएका मजदुरलाई सरकारी दररेट अनुसारको पारिश्रमिक उपलब्ध गराइनेछ । “अहिले राहतभन्दा पनि कामको खाँचो रहेको पायौँ, राज्यले सधैँ राहत मात्र दिन सक्दैन”, उनले भने, “त्यही भएर मजदुरलाई राहतको विकल्पमा काम दिएका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय